थाईल्याण्डमा गाँजाका पात मिसाइएका परिकारहरु खान पाइन्छ (भिडियोसहित)

एजेन्सी । थाईल्याण्डको एक रेष्टुरेन्टमा गाँजाको पातबाट बनाइएको खानाको परिकार खान पाइन्छ । त्यहाँको प्राची बुरी प्रान्तस्थित ‘चाओ फ्या अभाइभुबेज्रf’ अस्पताल हातामा सञ्चालित एक रेष्टुरेन्टमा गाँजाको पातबाट तयार पारिएको खाद्य परिकार खान पाइन्छ । त्यहाँ ‘गिग्लिङ ब्रेड’ र ‘जेएफुल्ली डान्सिङ सलाद’ जस्ता परिकारमा गाँजाको पात मिसाइन्छ ।,

गाँजाको पातबाट बनाइएको परिकारले विदेशी पर्यटकहरुलाई आकर्षित गर्न सकिने रेष्टुरेन्टको विश्वास छ । यो रेष्टुरेन्टमा पाइने हेप्पी पोर्क सुप र डीप फ्राइड ब्रेडमा गाँजाको पात मिसाइन्छ । सुंगुरको मासु र अन्य तरकारीहरुमा पनि कुरकुरे अवस्थाका गाँजाका पातहरु मिसाइन्छ ।

रेष्टुरेन्टमा खाना खान आएका केटिसरिन बून्सिरीले भने, “मैले भाङ यसअघि खाएको थिइन । यो निकै अचम्मको लाग्यो, तर स्वादिष्ट छ ।” रेष्टुरेन्टमा खाना खान आएका अर्का ग्राहक नट्टनन नाराननले भनिन, “गाँजा र भाङका पातहरुको स्वाद अन्य तरकारीको जस्तै थियो । तर खाइसकेपछिको असर केही फरक थियो । यसले मेरो घाँटी सुक्खा बनायो । त्यसपछि मिठाँई खाएँ ।”

थाईल्याण्डका उप शिक्षा मन्त्री कानोकवन विलवनले विदेशी पर्यटकहरु समक्ष थाईल्याण्डका प्रसिद्ध परिकारहरु पस्कने योजना रहेको बताए । उनले भने, “हामीले यसअघि देखि नै प्रसिद्धी कमाएका थाई परिकारहरुमा गाँजा र भाङ मिसाउने योजना बनाइरहेका छौं । जस्तो कि हरियो तरकारीको झोल । यस्ता परिकारहरु अझै लोकप्रिय बनुन् भन्ने हाम्रो उद्देश्य हो ।”

थाईल्याण्डमा गाँजालाई अवैध लागु पदार्थको सूचीबाट हटाएर सार्वजनिक प्रयोग गर्न पाइने कानूनी मान्यता दिईएपछि यस्तो खाद्य परिकार बन्न थालेको हो । त्यहाँ अहिले राज्य नियन्त्रित फार्महरुलाई गाँजा र भाङको खेती गर्ने अनुमति पनि दिइएको छ ।

‘चाओ फ्या अभाइभुबेज्र’ अस्पतालका प्रोजेक्ट लिडर पकाक्रोंङ क्वानकाओले भने, “गाँजा र भाङका थोरै पात खानामा मिसाएर खान दिंदा विरामी छिटो निको हुन्छन । यसले भोक जगाउँछ भने राम्रो निन्द्रा पर्छ । यसले मानिसको मुड पनि राम्रो बनाउँछ ।”

गाँजा र भाङबाट स्वास्थ्य समस्या हट्ने सम्बन्धमा गरिएको अनुशन्धान कार्यमा चाओ फ्या अभाइभुबेज्र अस्पताललाई उदाहरणीय रुपमा लिइन्छ । अर्थात यही अस्पतालले यस बारेमा अनुशन्धान गरी प्रमाणित तथ्य सार्वजनिक गरेको थियो ।

गाँजा र भाङलाई स्वास्थ्य उपचारका रुपमा प्रयोग गर्ने थाल्याण्ड दक्षिण पूर्व एशियाकै पहिलो मुलुक हो । थाईल्याण्डले सन २०१७ मा गाँजा र भाङलाई औषधीय उपयोगका लागि कानूनी मान्यता दिएको रोयटर्सले जनाएको छ ।

यो सामाग्री मन पराउनुभयो भने तलको बटन किलिक गरेर सेयर गर्नुहोस ।

About Bhuban kc