अबको प्रधानमन्त्री मै हुँ(विशेष अन्तर्वाता)


 सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साढे दुई वर्षपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पद नछाड्ने कल्पना नै नगर्ने स्पष्ट पारेका छन् ।

उनले विगतमा भएको सहमतिअनुसार अगाडि बढ्ने स्पष्ट पारेका छन्। बुधबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।


प्रस्तुत छ प्रचण्डसँग धमलाले गरेको कुराकानीको अनतरंग कुराकानीः

केपी शर्मा ओलीले तपाई प्रधानमन्त्री बनाउनु होला ? तपाइलाई विश्वास छ ?

हामीले पार्टी एकता गर्ने संकल्प गर्र्यौ र चुनाव एउटै घोषणापत्र र साझा उम्मेदवारको रुपमा लड्यौं । नेपाली जनताले त्यसलाई राम्रोसँग अनुमोदन गर्यो र अहिले हामी एउटा राम्रो जिम्मेवारीमा छौं । अझ नेतृत्वको कुरा गर्दा म र कमरेड केपी ओली अध्यक्ष हुनुको नाताले अझ ठूलो जिम्मेवारीमा छौं । दोस्रो कुरा पार्टी एकता गर्दा हामीबीच सहमति भएकै छ । सहमतिबाट नै निर्णय गरेर पार्टीमा जानुपर्छ र सरकारको नेतृत्व पनि हामीले आलोपालो गर्ने भन्ने नै छ । हामीले लिखित नै सहमति गरेका छौं त्यो बाहिर नै आइसकेको छ । किताबमा छापिएर आइसकेको छ ।

त्यसो भए आलोपालोमा जाने सहमति भएकै हो ?
अँ त्यो सहमति हामीबीच भएकै छ । केपी जी र मेरो कुरा हुँदा हामी सहमतिअनुसार नै जाने भन्ने कुरा हामी प्रतिबद्ध छौं । त्यसकारण म अहिले आशंका गर्न पनि चाहन्न । र यो विषय फेरी के हो भने उहाँ(ओली) र म बीच सहमति भयो भने पाँचै वर्ष केपीजी नै प्रधानमन्त्री भए पनि हुन्छ ।

त्यसो भए तपाई केपी ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री बनाउन तयार हुनुहुन्छ ?

होइन, मलाई प्रधानमन्त्री लिन हतारो पटक्कै छैन् । देशमा शुसासन र विकासले गति लियो र जनतामा सन्तुष्टी आयो भने मैले पार्टीलाई मुख्य रुपमा हेर्ने र अर्को अध्यक्षले प्रधनामन्त्री हेर्नेगरी काम मिलायो भने मलाई सहज हुन्छ । मलाई प्रधानमन्त्री नभई नहुने भन्ने मैले सोचेकै छैन् । मानिसहरु त्यसै होकी भन्छन् । मैले थोरै प्रधानमन्त्रीका कुरा निकाले भने प्रधानमन्त्री हुन बोलेको हो कि भन्ने मान्छेहरु पनि छन् । तर, मेरो त्यो कुरा होइन । राम्रोसँग पार्टी, सरकार रह्यो भने मलाई त्यो आलोपालो चाँहिदैन । पाँचै वर्ष केपीजी प्रधानमन्त्री भए पनि मलाई आपत्ति हुँदैन ।

तपाईं र ओलीको बीचमा साढे दुई वर्ष ओलीले नेतृत्व गर्ने । उहाँ प्रधानमन्त्री भैसक्नुभएको छ । साढे दुई वर्ष । त्यसपछि साढे दुई वर्ष तपाईं प्रधानमन्त्री । १५ महिना भैसक्यो । त्यसपछिको साढे दुई वर्ष तपाईं प्रधानमन्त्री बन्ने सहमति भएर पार्टी एकता भयो । यदि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यतिखेर प्रधानमन्त्री पद छाड्नु भएन भने तपाईंले के गर्नुहुन्छ ?

जे हुन्छ सहमतिबाट हुनुपर्छ भन्ने हाम्रो छ । पार्टीले डिसिजन गर्ने कुरा हो । त्यस्तो कुराको अहिले म कल्पना गर्न चाहदिनँ । मैले प्रधानमन्त्रीजीलाई दुस्ख, सुख अप्ठ्यारोमा रक्षा गर्न मेरो ठाउँबाट बल गरिराखेकै छु। तपाईंहरूले देखिराख्नुभएकै छ । मैले सरकारको पक्षमा प्रधानमन्त्रीको पक्षमा जनताको बीचमा पब्लिक कार्यक्रममा पनि, सरकारले गरेका राम्रा कार्यक्रममा पनि के-के हुन् भनेर भनिराखेको छु । त्यसैले म अहिले तपाईंको यो प्रश्नमा जान चाहन्नँ । त्यसो गर्नु अहिले वास्तवमा उचित हुन्न । हामी सहज ढंगले कुराकानी गरिराखेका छौं । एकतादेखि अहिलेसम्म कहीँ हाम्रा कमीकमजोरी छन् भने समीक्षा गर्ने र सच्याउने तर्फ बल गर्नुपर्छ भन्नेतर्फ गैराखेका छौं । त्यसकारण भोलि (साढे दुई वर्षमा) छाड्नुहुन्न (प्रधानमन्त्री) भन्ने म कल्पना गर्न चाहन्नँ । यो विषय जे हामीले समझदारी गरेका छौं । त्यो समझदारी अनुसार जान्छ भन्ने विश्वासका साथ काम गर्ने भन्ने छ मेरो । यसरी नै बुझ्नुहोला । योभन्दा बढी यसमा नसोध्दा ठीक हुन्छ ।

दोश्रो सवाल जनताको सुशासन र विकास तथा समृद्धिको आकांक्षालाई सम्बोधन गर्ने कुरा हो । जनताले कम्युनिष्ट पार्टीको नेतृत्वको सरकार भएको बेला सुशासनको अनुभूति गर्‍यो कि गरेन ? यो एउटा सवाल हो भने अब जनताले देशमा विकास हुने भयो । भ्रष्टाचारमुक्त समाजतिर पनि यो अगाडि बढ्यो । विकास र समृद्धितिर पनि गयो । सरकार र पार्टी नेताको अर्को कुनै स्वार्थ छैन भन्ने जनताले बुझ्यो भने चिज एक ढंगले जान्छ ।

जनताले होइन भ्रष्टाचार त बढेको छ । चिज झन् उस्तै छ । विकास पनि भनेको जस्तो अगाडि आइराखेको छैन भन्ने ठान्यो भने परिस्थिति अर्को ढंगले जान्छ । कुरा बुझ्नुभयो त । पार्टी्भित्र छलफलले गर्दा हिजो जे सहमति भएको छ त्यो स्पिरिटमा अगाडि बढ्यौं भने चिज एक ढंगले जान्छ । त्यो सहमतिभन्दा विपरित कुरा गर्न थालियो भने चिज अर्को ढंगले जान्छ ।

म पार्टीको अध्यक्षको नाताले पार्टी एकता गर्न मुख्य भूमिका खेल्ने प्रस्तावकको नाताले यसलाई बचाउने, सुदृढ गर्ने, एकताको आधारमा टेक्ने, जे सहमति गरिएको हो त्यो इमान्दारिता साथ कार्यान्वयन गर्ने । के का लागि भन्दा देश र जनताका लागि । जनताको विकासको आंकाक्षाका लागि । तर त्योबाट दायाँबायाँ गर्‍यो भने त्यो टिक्नेवाला छैन भन्नेछ मेरो । मैले गर्न खोजें भने म पनि टिक्दिनँ । अर्कोले गर्न खोज्यो भने अर्को पनि टिक्दैन ।

हामी कसैले धेरै घमण्ड गरियो भने त्यो घमण्डको अन्तिम परिणति राम्रो हुँदैन । यो कुरा मलाई लाग्छ, हामी सबैले महसुस गरेका छौं ।

ओली र तपाईंबीचमा असझदारी बढ्यो । दूरी बढ्यो भन्नेहरू पनि छन् नि बाहिर ।

त्यस्तो होइन । हामीले सहमति कार्यान्वयनमा आवश्यक गम्भीरता र निर्णय लिँदा सम्पूर्ण रूपमा इमान्दार र पारदर्शी रूपमा छलफल र छलफलबाट निर्णय लिने प्रक्रियामा हामी गम्भीर हुनैपर्छ । त्यहाँ गम्भीर भएन भने स्थिति अप्ठ्यारोतिर जाने खतरा हुन्छ । तर हामी अहिले जसरी छलफल गरिराखेका छौं । त्यहाँ केपीजीसँग मेरो खुलेर छलफल हुन्छ ।

तीन चार दिन अगाडि बस्यौं । खुलेर मनमा लागेको कुरा भनियो । दुई जना मात्र बसेर । यसले के देखाउँछ भने एकता गर्दाको स्पिरिट, जनताले दिएको भरोसा विश्वास । हामीले एकले अर्कालाई दिएको भरोसा विश्वास तोड्ने होइन बलियो बनाउनेतर्फ जाने लाइनमा छलफल भएको छ ।

जनताको चाहनाअनुसार काम भएन भने नेतृत्व परिवर्तन हुन सक्छ ?

भएन भने त त्यो हुनसक्छ । त्यो त सहमतिअनुसार परिवर्तन गर्नु पर्ने स्थिति आउन सक्छ ।

माधवकुमार नेपाल बामदेव गौतम झलनाथ खनाल, नारायणकाजी श्रेष्ठको बीचमा एउटा सहमति भैसकेको छ रे । संसदीय दलको नेता परिवर्तन गर्ने केपी शर्मा ओलीलाई हटाएर तपाईं प्रधानमन्त्री बन्ने? त्यो निर्णय भएको हो ?

त्यो बिल्कुल गलत कुरा हो । सरकारलाई कसरी सफल पार्ने । पार्टी एकता कसरी सफल पार्ने भन्ने विषमा विभिन्न नेतासँग छलफल भएकै छ । यो कुरा माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम मेरोबीचमा मात्र होइन । मेरो र प्रधानमन्त्रीको बीचमा पनि छलफल सबैभन्दा धेरै हुन्छ ।

अहिले पनि उत्तिकै छलफल भैराखेको छ । मेरो र ईश्वर पोरखेलको बीचमा छलफल भैराखेको छ । मेरो र महासचिव विष्णु पौडेलको बीचमा त झन् डे टु डे कुराकानी भैराख्न पर्छ । भैराखेको छ । अहिले कुनै पनि छलफल सरकार हटाउने र अर्को सरकार बनाउने विषयमा केन्द्रीत भएर भएको छैन । सरकारलाई के गरी प्रभावकारी बनाउने पार्टी एकतालाई के गरी छिटोभन्दा छिटो राम्रो तरिकाले टुङ्ग्याउने । आजसम्म भएको छलफल यहाँसम्म सीमित छ । बाँकी सबै हल्ला हुन् ।

यो सामाग्री मन पराउनुभयो भने तलको बटन किलिक गरेर सेयर गर्नुहोस ।

About Bhuban kc